Select Menu

भर्खरै

देश

Commercial

Commercial

राजनीति

समाज

sponser

sponser

अर्थ

बिस्व

साझा सवाल

खेलकुद

हेर्ने पर्ने

स्वास्थ्य र सुन्दरता

नयाप्रस्तुती

मनोरंजन

» » » » » » विश्वलाई क्रिकेट देखाउने अवसर'


Unknown 5:58 AM 0

ढाका- ढाकास्थित पान प्यासिफिक सोनारगाउँ होटलमा सोमबार नेपाली कप्तान पारस खड्काले विश्व ट्वान्टी–२० क्रिकेटको ट्रफी उचाले। व्यावहारिक हिसाबमा अप्रिल ८ मा हुने फाइनलमा नेपालको सहभागिताको सम्भावना असम्भव नै छ। तर, केही क्षणका लागि भए पनि पारसले उचालेको ट्वान्टी–२० विश्वकप ट्रफी सम्भवतः नेपाली खेलकुदकै गर्विलो क्षण रहनेछ। ‘मलाई लाग्छ, हामी यहाँ विश्वसामु नेपाली क्रिकेट प्रस्तुत गर्न आएका हौं, यो हाम्रा लागि राम्रो अवसर हो,' कप्तान पारसको एउटा शैली छ, त्यहीअनुसार उनी सोमबार विश्व ट्वान्टी–२० को पत्रकार सम्मेलनमा प्रस्तुत भए। नेपाललाई धेरैले पहिलो चरणको टोलीमात्र मानेका छन्। नेपालले पनि धेरै ठूलो लक्ष्य राखेको छैन। पारसका अनुसार सकेसम्म दोस्रो चरणमा जान प्रयास गर्ने हो।
‘तीन महिना वा एक वर्षको तयारीले हामी यो प्रतियोगितामा छनोट भएका होइनौं। १०–१२ वर्षदेखि निकै मिहिनेत गरिरहेका छौं। हामी यहाँ प्रतिस्पर्धा गर्न आएका हौं र आफ्नो क्षमताले भ्याएसम्म राम्रो खेल्छौं,' पारसले भने, ‘क्षमताअनुसार मात्र खेल्यौं भने पनि त्यो हाम्रा लागि राम्रो हुनेछ।'
आइतबार सुरु हुने विश्व ट्वान्टी–२० लाई आफू र आफ्नो टोलीले बडो उत्सुकतासाथ लिएको पारसको भनाइ थियो। ‘हामी जहाँ खेल्न गए पनि नेपाली प्रशंसकले हामीलाई पछ्याइरहेका हुन्छन्, नेपाली क्रिकेट प्रशंसक टेस्ट क्रिकेटका जस्तै छन्,' उनले भने, ‘हामीलाई नेपालले पनि राम्रो खेल्छ भनेर देखाउनु छ।'
धेरैका लागि नेपाल ट्वान्टी–२० विश्वकपमा छनोट हुनु आश्चर्यजनक रहे पनि नेपालको निम्ति यो निर्णायक मोड भएको उनले बताए। ‘हामीलाई घरेलु क्रिकेटमा संरचना चाहिएको छ। नेपाल विश्व ट्वान्टी–२० का लागि छनोट भएपछि सरकार र राष्ट्रिय खेलकुद परिषदबाट चासो दिन थालिएको छ। सबै नेपाली क्रिकेट कसरी विकास गर्ने भन्नेमा तल्लीन छन्,' पत्रकार सम्मेलनमा पूरा आत्मविश्वाससाथ प्रस्तुत पारसले भने, ‘आइसिसी पनि नेपाली क्रिकेटलाई कसरी अगाडि बढाउने भन्ने योजनामा छ। मलाई लाग्छ, यो प्रतियोगिताबाट हामी एक खुड्किलो माथि उठ्न सक्छौं।'
‘नेपालमा साहसिक खेल बन्जी, पर्वतारोहणको सम्भावना देखिन्छ, तिमीहरूलाई केले क्रिकेटमा तान्यो' भन्ने प्रश्नमा पारसले जवाफ दिए, ‘हामीले सन् १९९६ देखि नै एसियाली क्रिकेट परिषदको प्रतियोगिता खेलिरहेका छौं। त्यसमा नेपाल क्रिकेट संघ नेपाली खेलकुदको सबैभन्दा पुरानो संघ हो। अन्तर्राष्ट्रिय रूपमा चाहिँ हामीले खासै ठूलो उपलब्धि पाउन सकेका थिएनौं। त्यसैले विश्वकपमा खेल्न टोलीको नेतृत्व गर्न पाउनु म र मेरो टोलीका लागि अवसर र सौभाग्य हो। हामीलाई थाहा छ, हामीले अझै सिक्न बाँकी छ।'
उनले नेपाल समावेश समूहबाट कुन टोलीको कस्तो सम्भावना हुन्छ भनेर अड्कल काट्न गाह्रो हुने बताए। ‘विश्वकपमा आएपछि कुन टोली माथि जान्छ किटेरै भन्न सकिन्न,' नेपालसँगै आयोजक बंगलादेश, अफगानिस्तान र हङकङ समावेश समूहबारे पारसले भने, ‘जुनै टोली छनोट भए पनि सबै निकै प्रतिस्पर्धात्मक टोली हुन्। हामी प्रत्येक खेलसँगै अगाडि बढ्नेछौं। हाम्रो जे बलियो पक्ष हो, त्यो प्रस्तुत गर्नेछौं।'
बंगलादेशले वर्ष २०१४ मा सबै विधामा गरी कुनै पनि खेल जित्न नसकेको प्रश्नमा पारसले ट्वान्टी–२० फरक भएकाले यसमा अझ केही भन्न नसकिने बताए। बंगलादेशले क्रिकेटमा गरेको प्रगतिबाट नेपाललाई पनि राम्रो खेल्न प्रेरित गरेको पारसको भनाइ थियो। नेपालले १९९६ मा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दा बंगलादेश नै प्रतिद्वन्द्वी थियो। १९९८ मा नेपालमै आएर बंगलादेशले एसिसी ट्रफीमा प्रतिस्पर्धा गरेको थियो। १९९९ मा विश्वकपमा छनोट भएपछि बंगलादेश आइसिसीको पूर्ण सदस्य राष्ट्र बनिसकेको छ।
अफगानिस्तानको प्रगतिबाट नेपालले सिक्नुपर्ने पारसको सुझाव थियो। ‘अफगानिस्तानसँग हामी नियमित खेलिरहेका छौं, उनीहरूले अहिले जुन सफलता पाएका छन्, त्यसबाट हामीले पनि सिक्नुपर्छ। सिक्ने कुरा जोसँग सिक्दा पनि हुन्छ,' उनको भनाइ थियो।
नेपालले यु–१९ स्तरमा राम्रो खेले पनि त्यसलाई राष्ट्रिय टोलीले निरन्तरता दिन नसकेको प्रसंगमा पारसले भने, ‘हामीले पहिले सधैं यो प्रश्न सुन्नुपर्थ्यो। तर पछिल्लो दुई वर्षमा राष्ट्रिय टोलीले राम्रो गरिरहेको छ। जुनियर टोलीले पहिलेजस्तो प्रदर्शन गर्न सकेको छैन। जुनियर टोलीलाई संरचना चाहिएको छ। सरकारले पनि यसबारे सोचिरहेको छ, त्यसैले सबै राम्रो भइरहेको छ।'
पारसले अगाडि थपे, ‘विश्वकपको यो माहोलमा आउन सबैले धेरै मिहिनेत गरेका छन्। सबै आफैंलाई प्रमाणित गरी क्रिकेट खेल्न आतुर छन्, हामीसँग बलिङ र फिल्डिङका साथै ब्याटिङ पनि राम्रो छ, तर एउटा निश्चित दिनमा कस्तो खेलिन्छ त्यसमा सबै भर पर्छ।'

«
Next
Newer Post
»
Previous
Older Post