बम आक्रमणबाट फेरि जोगिए मुसर्रफ
इस्लामावाद,
चैत्र २१ -
पाकिस्तानका पूर्वराष्ट्रपति एवं सैनिक जनरल पर्वेज मुसर्रफ बिहीबार बम
आक्रमणबाट बँचेका छन् । उनको यसअघि पनि धेरै पटक हत्या प्रयास भइसकेको छ ।
गत वर्ष निर्वाचनमा सहभागी हुन स्वदेश फर्केदेखि तालिवान समूहले उनलाई
ज्यान मार्ने धम्की दिँदै आएका छन् ।
रावलपिण्डीस्थित अस्पतालबाट इस्लामावादस्थित फार्म हाउसमा लगिने क्रममा
बुधबार अबेर राति उनीमाथि बम प्रहारको प्रयास भएको थियो । उनको छाती
दुखाइको उपचार भइरहेको छ । देशद्रोहको मुद्दाको सुनुवाइका क्रममा गत
जनवरीमा अदालततर्फ जाने क्रममा छाती दुख्दा उनलाई अस्पताल भर्ना गरिएको
थियो ।
उनी सुरक्षा बलसहित राजधानी इस्लामावाद प्रवेश गर्ने क्रममा फैजावाद
पुलपार गर्नु करिब २० मिनेटअघि चार किलोग्रामको विस्फोटक पदार्थ पडििाइएको
प्रहरी स्रोतले जनाएको छ । हालसम्म यसको कुनै पनि समूहले जिम्मेवारी लिएको
छैन । पुलमुनिको पाइपलाइनमा ती विस्फोटक लुकाइएको थियो । यो घटनापछि उनलाई
वैकल्पिक मार्गबाट लगिएको थियो ।
मुसर्रफका प्रवक्ता आसिआ इज्हाकले मुसर्रफ सुरक्षित रहेको बताएकी छन् ।
सबै अतिवादी र आतंककारी समूहले मुसर्रफलाई मार्ने कोसिस गरिरहेको उनले
भनेकी छन् । मुसर्रफलाई केही भए पनि सरकार जिम्मेवार हुने पनि उनले बताएकी
छन् । विभिन्न पाँच आरोपमध्ये आफ्नो शासनकालमा संकटकाल घोषणा गरेर संविधान
मिचेको अभियोगमा उनीविरुद्ध देशद्रोहको मुद्दा चलाइएको छ । राजनीतिक रूपले
प्रेरित आरोपहरू झूटो भएको मुसर्रफले भन्दै आएका छन् ।
- See more at: http://www.ekantipur.com/np/2070/12/21/full-story/386867.html#sthash.gTdtKatf.dpuf



